Better to know, समाचारहरु NEWS

एएनए कन्भेन्सन र प्रॆमराजा –डा. कविताराम श्रेष्ठ

Published by on May 26, 2009

एएनएसको पिकनिक एएनए कन्भेन्सन र प्रॆमराजì

- ए, ए, रामराजा भाई !
- कसलाई बोलाउनु भएको ?
- रामराजा महतलाई ।
- रामराजा हो त ऊ ?

म झस्केँ । उ त प्रेमराजा हो । रामप्रसाद खनालसँग कुरा हुँदैथ्यो, राजाराम पौड्यालको बारेमा प्रेमराजालाई देख्नेवित्तिकै बोल्नपुगेछु । झुक्किएछु ।
प्रेमराजालॆ ए दाई भन्दै हात मिलाए । तर उनी तुरुन्तै लागॆ अरुतिर । आउँदा आउँदैको प्रेमराजालाई धेरै साथीसँग हात मिलाउनु छ । ऊ सबैसँग उस्तै मिलापी हुनुपर्ने मान्छे त्यसमाथि पब्लिक फिगर एउटा सेलिब्रिटी । म लागेँ बासु श्रेष्ठसँग कुरा गर्न । मनमा भने लगिनै रह्यो प्रेमराजाले मलाई राम्ररी समय दिएनन् ।

कुरा हो एएनएस अमेरिकी नेपालिज सोसाइटी को जुन १३/०८ मा भएको पिकनिकको । यस सोसाइटीले वर्षेनी खुला पिकनिकको अयोजना गर्दछ, यसैबेलातिर पारेर । भर्जिनिया मेरिल्याण्ड र वािसंगटनका आठ नौ सयजति नेपालीहरु सकेसम्म सपरिवार आउँछन् यसमा । धेरै साथीहरुसँग भेटघाट हुन्छ । गत वर्ष म फेब्रुअरीमा नेपाल फर्केथेँ र सहभागी हुन पाइन । यसपाली त मौका पर्यो । नेत्र घििसंग यसै सँस्थाको महासचिवलाई एउटा पारिवारिक रात्रीभोजमा भेटेथेँ । उहाँले जसरी पनि आउनपर्छ भन्नुभाथ्यो । अनि लेखनाथ भण्डारीले निम्तो नै इमेलबाट पठाउनुभाथ्यो । र उहाँहरु दुवैले कविन्द्र सिटौलालाई मलाई लान र ल्याउन जिम्मा दिनुभएको रहेछ । कविन्द्रजीले मलाई टिपेर ल्याउनुभयो यस पिकनिकमा ।

- कहिले आउनुभो दाई ?
- तीन हप्ता भयो ।

कसैले मलाई बोलाउनुभयो र बोलेँ . तर मैले चिन्न सकिन । मैले नचिनेको छाँट उनले बुझे र भने – चिन्नुभएन जस्तो छ । म राजु ।
अहिले लेख्दै गर्दा चिनिसकेको स्थिति छ । उनी मेरै जन्मथलो ओखलढुंगाका गुठीयार भाइ थिए । र गत वर्ष मेरो भाई बेनुको घरमा रात्रीभोजमा भेट भाथ्यो । तर अहिले मैले कत्ति चिनिन । के लाग्यो र नचिने पछि । जसको पनि कमी कमजोरी त हुन्छ नि । मेरो सम्झनाशक्ति अलि कमजोरै छ । सोचेँ । को राजु तर ठम्याउन सकिनँ । अनुहार पूरै परिचित । तर नाम भन्दा समेत सम्झन सकिनँ । यस्तो अवस्थामा चिनिन भन्नु भनेको कसैको सम्मानमा ठेस पुर्याउनु जस्तो लाग्छ मलाई र धेरैजसो म ढाँट्छु । र त्यहाँ पनि त्यत्तिकै भनेँ- ए चिनेँ । तर मेरो अनुहार बताइरहेको हुनुपर्छ= मैले चिनेकै थिइन । परबाट एएनएका सचिव नेत्रजीले बोलाइ पठाउनुभएछ । मैले निहुँ पाएँ र त्यहाँबाट एकैछिन्मा आउँछु है भनी भागेँ ।

यता नेत्रजीले माइक दिँदै भन्नुभो – लौ केही बोल्नुपर्यो यत्रिखेर वािसंगटन डिसि च्यानलले लाइभ टेलीकास्ट गरिरहेको छ ।
मारे न के । यो पनि एक्कासी नै भयो । माइक हातमा थियो र क्यामेरा अघाडि । सामान्य ढंगमा दर्शकहरुलाई अभिवादन गरेँ र पिकनिकको महत्ता बताएँ । बोलिदिएँ चिनिएकालाई पनि यहाँ भेटिन्छ बिर्सिएकाहरुलाई पनि । यो पिकनिकले पुनर्मिलन र चिनजान नवीकरणको लागि सुनौलो अवसर दिन्छ ।

मैले सकिहालेँ । भाई गोविन्द गिरिले भनिहाल्नु भो – के मन्तव्य दिए जस्तो छोटो बोल्नुभाको । संसारभरीकाले हेरिरहेको छ . अलिकति यताको कमेन्ट्री नै दिए पनि त हुन्थ्यो ?

अब मैले के जवाफ दिने ? म त्यसको लागि तयारै थिइन ।

- ऊ यहाँ अर्को महाहिरो भेटियो ।

कोही मेरोबारेमा बोल्दै थिए । उत्रा फर्केँ । सरोज खनाल रहेछन् । मलाई सम्बोधन गर्दै आएका । साथमा रहेछ प्रेमराजा महत र रामप्रसाद खनाल पनि । यी कलाकारहरु एकछेउबाट अर्काछेऊ निरीक्षण गरेको हिसाबमा फटाफट हिँड्दैथे । मेरो बारेमा यति भनेर एकछिन रोकिएला भनेको हातसम्म मिलाएर हिँडे, हिरो । अघि प्रेमराजाले त्यही गरे । अहिले सरोजले पनि त्यस्तै । चित्त नबुझाइ नबुझाई चित्त बुझाउँदै सोचेँ ठीकै छ नि पब्लिक फिगर हो । त्यसलाई मेन्टेन गर्नै पर्यो । सबैलाई उत्तिकै ध्यान दिनै पर्छ । एकठाउँमा अल्मलिएर पक्कै हुँदैन । मेरा छेउका एउटा अपरिचित साथीले मलाई प्वाक्क भने तपाईलाई उडाए होइन ? हिरो भए भन्दैमा अरुलाई किन उडाउन पर्थ्यो ?
मैले तत्काल भनेँ- उडाएका होइनन् । मेरो नजीकको सम्बन्ध छ उनीसँग । उहिलेदेखि नै ।
- महाहिरो किन भन्नपरेथ्यो त ?
- मैले पनि उसँगै एउटा फिल्ममा खेलेथेँ ।
-साँच्चै ?
-साँच्चै ।
- कुन फिल्म ?
- मुक्तिसंघर्ष । म आफैले बनाएको ।

त्यसपछि उनले मेरो नाम सोधे – तपाईको नाम के हो ?
- कविताराम श्रेष्ठ ।
- ए डा. कविताराम ? तापाई त कवि होइन र फिल्मतिर पनि लाग्नुभाको रहेछ । थाहै भएन ।
मैले हात मिलाउँदै उनको साथ छोडेँ ।

वास्तवमा रहरले दुइटासम्म फिल्म बनाएँ । एउटा रहस्यमय गुफा र अर्को मुक्ति संघर्ष । त्यो भिडियो फिल्म भएकोले काठमाडौँ पोखरा र हेटौँडामामात्र भिडियोहलहरुमा चल्यो . त्यसैले सबैलाई थाहा हुने गरी हल्लीखल्ली भएन । त्यसैले तपाईँहरुलाई पनि थाहा नहोला । तर त्यो मुक्तिसंघर्ष भन्ने फिल्म चाहिँ माओवादी पार्टीले आफ्नो शैक्षिक सामग्रीको रुपमा लिएर जनचेतना जगाउन प्रयोग गरेथे । जनयुद्ध पूर्व र जनयुद्धको दौरान पनि । जनस्तरमा यो पक्कै परिचित छ । यसबाट पैसा त कमाइएन तर सन्तुष्ठी भने कमाएको छु । लेख्ने कवितारामलाई यो फिल्म बनाउने कवितारामको ठूलो हात छ तपाईहरुसम्म आइपुग्नको लागि । तर सँधै त्यता धेरै लागिँन र यसो कपाल लर्काउँदै टाइसाइ कसेर ठाडो शीर गरी हिँडने हिरोसिरो हुन परेन । लेख्ने मान्छे हुँ । मान्छेहरु मेरो लेखनलाई चिन्छन् । अनुहारलाई सिँगार्ने कुनै आवश्यकता नै रहेन । लेखन हेरेर मेरो व्यक्तित्वको कल्पना गर्ने धेरैले भनेका छन् सोचेको जस्तो व्यक्तित्व नहुने रहेछ । बढीमा विज्ञान साहित्य र आधुनिकताका प्रवक्ता रहेका कारणले मलाई धेरैले अनुहार जेजस्तो भए पनि टाइसाई लगाएका गाडीसाडी चढ्ने मुखमा चुरोट च्याप्ने गम्म फुलेल होला भन्ने मान्दा रहेछन् । भेट्दा फरक भयो भनेका छन् ।

सरोज र रामप्रसाद खनाल पर एकठाउँमा भीड हेर्दै उभिएका थिए । रामप्रसादले इशारा गरेर बोलाए । तर सरोज भने मुसुक्क हाँसेका छन् . अनि परपर दर्शकहरुलाई हेरिराख्याछन् । अनि मुखमा क्याच्चक्याच्च गम चपाइरहेका । एउटा फिल्म सम्झें हलिवुडवाला । त्यसमा अमेरिकामा गुप्तचरी गर्न आउने एउटा विदेशीले पक्का अमेरिकी हुनुको नक्कल गर्न यसरी नै गम चपाएका थिएँ । जे होस् यीनले चाहिँ अमेरिकी हुने नक्कल गरेका होइनन् । म पनि त गम खान्छु मान्छेको छेऊ पर्ने बेलामा सास गनाउला भनेर ।

सरोजलाई यसो बोलाइ टोपलेँ । उसको ध्यान मतिर भन्दा टाढा अरुतिरै बरालिएको थियो । मुसुक्क हाँसे मात्र । जवाफ आएन । अर्को हिरो आएछ भने मरेनी नबोल्ने भनेर म साहित्यकारकै पछाडि लागेँ । त्यता हेमन्त श्रेष्ठ, बासु श्रेष्ठ, शाश्वत पराजुली, गिरिश पोख्रेल, गोवन्द गिरी प्रेरणा थिए मस्तिमा । कोइ कता कोइ कता आपसमा रमाइरमाइ कुरा गरिरहेका । वाह यी दिमागका खेति गर्नेहरुले मलाई साम्रै साथ दिए । नयाँनयाँ साथीहरुलाई चिनाए कोही समाजसेवी कोही पत्रकार । धेरैले तपाइलाई त हामी राम्रै जान्दछौँ है भने ।

दिन ढल्दै गयो । मलाई बोलाहट भयो मंचतिर । खोज्दै मान्छे नै आइपुगे । त्यहाँ एउटा औपचारिक कार्यक्रम हनुपर्ने रहेछ । नेपालका राजदुत प्रमुख अतिथी रहेछन् त्यसमा । प्रेमराजा पनि अतिथीको रुपमा विराजमान थिए मंचमा । एउटी सानी नानीले नयाँ नेपालको नयाँ राष्ट्रियगीत गाउँदै रहिछन् । पछि थाहा भो यी गिरिशकी छोरी रहिछिन् । नाम धरती उमेर ५ वर्ष की । मलाई त्यतै एउटा कुर्सीमा बस्न भनियो । तर मलाई बच्चीको छेउमै रमाएर उभीन ठिकलाग्यो । बच्चीको राष्ट्रियगीत सकिनेवित्तिकै उद्घोषक नेत्रजीले मेरो छोटो परिचय दिँदै भन्नुभो – उहाँ वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठ हुनुहुन्छ . उहाँलाई यस वर्ष अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज वािसंगटनले सम्मान दिँदैछ र त्यसैको लागि भरर्खरै आउनुभएको छ । भन्नुभो र थप्नुभो – उहाँलाई यस पिकनिकमा स्वागत छ ।

त्यसो मात्र भएन फेरि वक्ताको रुपमा मलाई अगाडि सार्नुभयो ।

अबको पल्ट मैले औपचारिक भाषण दिनपर्ने भयो । र दिएँ । त्यसमा मैले आफू आउनुको अर्को कारण पनि बताएँ । यस वर्ष अस्वीकृत विचार साहित्य पुरस्कार गुठीले अमेरिकाबासी नेपाली कवि श्री वसन्त श्रेष्ठलाई पुरस्कृत गर्ने नीधो गरेथ्यो र उहाँलाई सो पुरस्कार सम्मान दिन पनि आएको हुँ भनेँ । सँगै भने त्यसै गुठीका अध्यक्ष श्री कृष्णचन्द्रिसंह प्रधान पनि आउदै हुनुहुन्थ्यो तर नेपालको अमेरिकी दुतावासले ८४ वर्षका बयोवृद्ध बहुप्रतिष्ठित लेखक कृष्णचन्द्रिसंह प्रधानलाई भिसा दिएन । भिसा नदिनुको कारण जनाइए छ, उहाँ नेपाल फर्कने कुरामा दूतावास विश्वस्त छैन रे । धेरै स्रोताहरु गलल हाँसे अमेरिकी दुतावसको सोँचाइको गरिबीमा । तर सँगै विश्मयता पनि छायो नेपालीहरुको मानमर्दन भएकोमा ।
साँझतिर सहभागीहरु फर्कन लागे । प्रेमराजा आए दौडदै र दाई तपाई त देशको गहना हो नि हो । यहाँ यसरी भेट्न पाउनु हाम्रो अहोभाग्य हो भन्दै घ्याप्प अँगालो हाले । अझ अँगालो पनि होइन कम्मरनेर छाँद हालेर उचाल्नै खोजे । बुझेँ बिहान प्रेमराजाले मलाई नचिनेको रहेछ । प्रेमराजासँगको पहिलो भेट भनेको कहिले हो मलाई सम्झना छैन । २०५२ सालतिर म नेपाल टेलिभिजनको अध्यक्ष भएको वेलामा उनका केही गीतहरुलाई छायाँकन गर्न म खुदले चासो लिएँथेँ र उनका गीतहरुमा केही जनबादी बोल पनि राख्न अनुरोध गरेथेँ । त्यसपछि पाँच वर्षअघि मेरिल्याण्डको दशैँ उत्सवमा भेटेथेँ । अनि पछि भेटेकै होइन । कसरी सम्झून् विचरोले । म पो उनलाई भिडियो टिभिमा देख्दछु र सम्झना नवीकृत भइरहन्छ । धन्न उनले स्टेजमा बोल्दा कुरैकुराले चिन्न पुगेछन् । वास्तवमा उनी फरासिलो हुन् पहिलेदेखिनै । धेरैले बखान गर्छन् प्रेमराजा फरासिलो मान्छे भनेर । नयाँ आउने नेपालीहरुको लागि उनी सगाउन आफै अगि लागिपर्छन् रे । कुनै पनि पाहुना नेपालीलाईलाई समय दिनेमात्र होइन उनी खातिरदारी नै गर्छन् रे ।

- दाई लौ जुलाई ४ मा मेरिल्याण्ड आउन पर्छ है ।

अर्थात् एएनएको २६सौँ कन्भेन्सनमा । मलाई पहिले नै त्यसको कविता महोत्सवमा एउटा निर्णायकको भूमिका निभाउन निम्तो आएथ्यो । मैले गम्म फुलेर बताउँदै भने ए म त त्यसको कविता महोत्सवमा निर्णायक बनेर आउँदैछु नि । धक्कु लगाएथेँ । उनी त्यसै कार्यक्रमकै मूल समितिका एउटा आयोजक थिए भन्ने मलाई थाहा थिएन र बोलेँ यति पछि कार्यक्रमहरुको थालनी भएपछि थाहा हुदै गयो- प्रेमराजा एउटा ठूलै भूमिकामा यसमा संलग्न रहेछन् । मलाई आफ्ना धक्कूहरुसँग यत्ति लाज लाग्यो कि कुरा गरी साध्यै छैन । तर यसमा मेरो गल्ति पनि त थिएन को कता कुन भूमिकामा थिए ? मलाई कत्ति थाहा दिइएको थिएन । मूल कार्यक्रमकै संयोजक रहेका प्रेमराजालाई पनि एउटा शाखा कार्यक्रमहरुमा हुनुपर्ने मेरो संलग्नताबारे कसरी थाहा होस् ?

तर कमसेकम म संलग्न भएको कार्यक्रमचाहिँ पूरै हचपचमा भएको कुरा यहाँ भन्न चाहन्छु । प्रेमराजाजस्ता मूलसमितिमा रहेका व्यक्तिलाई थाहा नहुने कुरा स्वाभाविक हुन सक्ला . तर जुन कविता महोत्सवको कार्यक्रममा म निर्णायक बनाइएको थिएँ मैले त्यो भूमिका निर्वाह गरीवरी त्यसको अन्त्य हुँदा पनि त्यसैको संयोजक रहनुभएका एचबि भन्ने व्यक्तिसँग मेरो परिचय नै भएन । एउटा व्यवस्थित कार्यक्रम यस्तो होला र उहाँलाई आसन ग्रहण गराउँदामात्र संयोजक उहाँ नै हुनुहुँदो रहेछ भनेर चिनेँ । संयोजक र निर्णायककै चिनापर्ची नभएको त्यो कविता महोत्सवका व्यवस्थापन कसरी भएको थ्यो होला भनेर त्यत्तिकै अडकल काडन सकिन्छ । अनि बिचरो प्रेमराजालाई म कुनै भूमिकामा छु भनेर कसरी ज्ञात होस् र प्रेमराजा नै यसैको मूलसमितिमा एउटा महत्वपूर्ण भूमिकामा थिए भन्ने म बिचरोलाई पनि के थाहा होस् ?

कविता महोत्सव भएको थियो जुलाई ३ तारिखको दिन । त्यस कविता महोत्सवमा मसमेत निर्णायकहरु ८ जना थियौँ र प्रतियोगी कविहरु थिए जम्मा नौजना । बालकविता प्रतियोगिताको लागि छुट्टै फोरमको व्यवस्था भएको भनिएथ्यो तर वालकहरु आए दुइजना मात्र ती पनि अंग्रेजी कवितासाथ । लागि ८ जनाले ९ जनाको मूल्यांकन गरेथ्यौँ । हामी निर्णायकहरुले अप्रतियोगी कविताहरु सुनाएकाले मात्र त्यो महोत्सव एउटा सामान्य गोष्ठीसम्म हो कि भन्ने भाथ्यो । अमेरिकामा नेपालीहरु कवितै लेख्दैनन् त ? त्यसो पक्कै होइन । उहाँहरुसम्म यो खबरै पुगेन भन्ने भनाई मेरो हो । मैले बढी भन्न पनि मिलेन र घटाउन पनि मिलेन । डिसी च्यानलले लाइभ दिइरहेथ्यो । त्यसमा हेरेर अहिलेपनि गन्न सकिन्छ ।

भोलीपल्ट ४ तारिख १० बजेतिर वािसंगटन डिसी डटकमको लाइभ च्यानलमा देखियो नेकपा एमाले नेपालको तर्फबाट पाहुनाको प्रतिनीधिको रुपमा योगेश भट्टराई आएका रहेछन् । नेपाली कांग्रेसका तर्फबाट सुशील कोइराला पनि थिए । त्यहाँ त एकैछिनमा प्रेमराजा महत पो अतिथिलाई स्वागत मन्तव्य दिन आउँछन् । ल म दंग परेँ एकाएक उनको उचाई मभित्र धेरैमाथि उठ्यो । स्याबास भाई तिमी साँच्चै उठेका रहेछौ । सामान्य भीडको वाहवाहीमा फुलेर अल्मलिएका रहेनछौ । मेरो छाति गर्वले उठ्यो ।

कलाकारहरु जहाँ पनि नटुवा नै भएर रहन्छन् । राजनीतिकर्मी वा प्रशासन वा ठालुहरु जसले पनि कलाकारहरुलाई गाइने बनाएर नटुवा बनाएर उचाल्छन्, ताली ठोक्छन्, रमाउछन् र सामान्य ज्याला दिएर लखेटछन् । कलाकारहरुलाई ज्यालाभन्दा फ्यान प्यारो हुन्छ । तालि बजेकै छ रमाएर हाँसिदिएकै छन् कलाकारहरुलाई त्यो भन्दा बढी के चाहियो ठालुहरुले शोषण गरिरहेका हुन्छन् भन्ने कुरा अधिकतर कलाकारहरुलाई होसै हुन्न । हाम्रा गन्धर्भहरु पहिले देवकोटीमा थिए । युग वित्दै जाँदा सामन्तहरुले अछुत बनाएरै छाडे । यो वस्तुवादि युगका कलाकारहरुको घैँटोमा अझै घाम लागेको छैन । आज पनि अछुतै बनाइएका छन् भन्ने बुझेकै छैनन् ।

तर यी प्रेमराजा भने फरक रहेछन् । आफ्नो भाउ रखेका रहेछन् है । साँच्चै उनी होँच्याइएका अछुत कलाकारमात्र थिएनन् । उनै देवकोटीका गर्विलो गन्दर्भ थिए । मेरा यी अभिव्यक्तिले अरु कलाकारहरुको मान मर्दन गर्दै गरेको भान हुन्छ कि कृपया त्यसो होइन । म आफै पनि कलाकारको पहिचान राख्न लालायित मान्छे हुँ । किन त्यसो गर्थेँ ? मेरो भनाइ हो प्रेमराजा भीडको तालीभन्दा माथि उठेका ठालुहरुका भाटमात्र नरहेका सही मानेका कलाकार थिए । उनले सही कलाकार हुनुको पहिचान दिएका छन् ।

बढी गुनगान गरेको जस्तो लाग्यो तपाईलाई ? के गर्नु त ? यत्ति माथिका जनमानसमा राज गर्ने साँच्चैको माथिल्लो स्तरको कलाकार ऊनी प्रेमाणित थिए । नत्र लरतरले त्यो माइक पाउँछ संसारभरी उसको आवाज र प्रस्तुतिकरण प्रसारित भइरहेछ । के ख्यालख्याल छ ? तपाईले पनि मान्न पर्छ कि यो उचाइमा त्यतै देखिने उनका दाइकलाकारहरु पनि देखिएनन् । रहरले पनि यो हुन सक्दैन । इर्ष्याले पनि हुन सक्दैन । राम्रा अनुहार भएर नि हुन्न । फिलिममा हिरोइनसँग नाचेकै भरमा पनि हुन्न । टिरिक्क लुगा लाएर मात्र पनि हुन्न । सबैको मन जित्न सक्ने क्षमता पनि हुनपर्छ र त्यस्माथि पनि समाजलाई अग्रगामी बनाउन नेतृत्वको गुण पनि भएको हुनुपर्छ ।

के कलाकारहरु मनोरन्जन दिने पेशेवर मात्र हुन् ? के कलाकारहरु ठालुहरुका जोकरमात्र हुन् ? म भन्छु नै कलाकारको इज्जत राखेछन् भाई प्रेमराजा महतले । यस्तै व्यक्तित्व साहित्यिकहरु माझ पनि भएको भए त्यो कविता महोत्सवको त्यत्तिसारो खील्ली उड्ने थिएन । मन त्यहाँ नै कुँडियो ।
आफू त साहित्यकर्मी । जता गए पनि धुन त्यही । नातिहरु अमेरिका आएपछि अंग्रेजीमात्र बोल्ने भए । गीत गाउँछन् रयाप । सुर चाहिँदै नचाहिने । स्वर चाहिँदै नचाहिने । तालमा प्यारप्यारति बोल्न सके भइहाल्यो । त्यसैले उनीहरु रयाप गाउँदैनन् तर हान्छन् । रयाप हान्छन् । यो नगर्नु भन्ने मेरो भनाइ होइन । नेपाल नबिर्से हुन्थ्यो भन्ने मात्र हो । एउटा हिपोक्रेसी । नेपाल सम्झनेहरुले गरेकै पो के छन् ? र नेपालमै हुने हामीहरुले कति पो गरेका छौँ र ? तर हिपोक्रसी नै भएपनि वा आफूभित्रको नजानिदो स्वाँग वा ढोँग नै भएपनि बच्चाहरुका दिमागमा नेपाल हुलीराख्न पाए हुन्थ्यो भन्ने लाग्छ नै । तपाइलाई पनि पक्कै त्यस्तै लाग्ला । आफ्नोपनको माया हुन्छ नि त्यसैले । मेरो छोरो रसोज श्रेष्टलाई यतै कम्प्युटर एनिमेशसन सिक्न ल्याएको थिएँ – ऊ यतै भासियो परिवारसँगै । पढाइसकिएपछि डेनभरको सामुदायिक च्यानलमा उसले नेपाली भाषा संस्कृतिको हिमालय टिभि भन्ने मुनाफा नकमाउने टिभी च्यानल हेल्पिंग ह्याण्डको सहयोगमा राजेन्द्र राईलाई साथलिएर शुरु गर्यो । त्यो डेनबरको सामुदायिक च्यानल डिसिटिभिमा संचालित थियो । उनीहरु दुवैले स्वयमसेवीको रुपमा झण्डै तीन वर्षसम्म यसलाई चलाए । पछि डिसिटिभी नै टाटपल्टन गएछ र उनिहरुको हिमालय टिभि पनि त्यसैसँग सति गयो । हिमालय टिभिको एकमात्र उद्देश्य थियो अमेरिकाबासी नेपालीहरुको पोल्टामा प्यारो नेपाल राखिदिने । विशेषगरी यसबाट बालबच्चाहरुलाई नेपालीत्वको सामाजिकरण गर्न ठूलो सहयोग पुगेथ्यो । तर यो नै बन्द भएपछि उडायो सपना सबै हुरीले ।

बच्चाहरुलाई के बनाउने भन्ने आमाबाबुकै इच्छामा भर हुने कुरा हो । अमेरिकामा आइसकेका बच्चाहरुलाई हामीले अनेकन मेहनत गरी नेपालीकरण गर्दै लग्छौँ । तर आधा अमेरिकन भइसकेको तपाइको सन्तानलाई आफूमुनिका सन्ततिलाई नेपाली बनाउने मोह र पागलपन तपाईको सरह हुन्न नै । अनि त्यसै हो भने अहिलेको प्रयासको अर्थ के भयो ? जे गरे पनि र नगरे पनि उही नै हुने हो भने हाम्रो गराईको अर्थ के अर्थ देखिन्न र पनि हामी त्यसै चुप लाग्न सक्दैनौँ । हाम्रो त्यो पागलपनको प्रकृयात्मकता र कारणको सम्बन्ध कहाँसम्म डोरिएर जाने हो हामीलाई थाहा छैन र पनि हामी त्यो गर्न छाड्दैनौ ।

त्यत्रो एएनएको कन्भेन्सनमा कविता भन्ने बालकहरु आए दुइजनामात्र त्यो पनि अंग्रेजीकै कवितासाथ । भन्नुहोस् न हामी नै अब के गर्न सक्छौँ ? हामीलाई नै त्यो अब स्वाभाविक लाग्न लागेको छ र बरु अर्कै पाटामा हाम्रा लोभ टुसाउँछ कि हाम्रा बालबालिकाले नेपालीमा नसही अर्कै भाषामा भएपनि केही सीर्जना चाहिँ गरुन् । हामीलाई रहर छ – उनिहरु पनि हामीजस्तै साहित्यानुरागी बनुन् । भाषा जुन प्रयोग गरेपनि ।
प्रेमराजाको अनुरोध थियो आउनु भनेर । र मैलेपनि निकै गम्भीर प्रकृतिको जिम्मेवारीमा भएको धाक दिएकै हुँ । अनि यता त्यही जिम्मेवारीमा मेरो सोचले वास्तविक रुपमा लोप्पा खाएकै हॊ । प्रेमराजालाई मेरो के हविगत भयो थाहा भयो या भएन थाहा छैन । उनलाई म आउनु र नआउनुको कति नै महत्ता राख्थ्यो र ? इज्जतसम्म दिएको हो । मलाई त्यो थाहा थ्यो ।

म दोस्रो दिन त्यहाँ गएँ नै । जुलाई ४ को त्यो दिनको उद्घाटन समारोह सकिइसकेको थियो र लन्च ब्रेक थियो यो बेला । बाफरे बाफ भीड । भीत्रका कुरा छाडौँ बाहिर आँगन र पार्किंगमा समेत खुट्टा राख्ने ठाउँ थिएन ।

- हेलो कवितादाई ।

उता हेरेँ हात बढाउँदै योगेश भट्टराई । एमाले पार्टीको प्रतिनीधित्व गर्दै निम्तोमा आउनुभएका । उहाँ पहिले एमालेकै भ्रातृसंगठन अनेरास्व वियुका केन्द्रिय अध्यक्ष हुनुहुन्थ्यो । त्यतिबेला म वाहाँलाई भाइ भन्थेँ र उहाँले मलाई दाई । अहिले पनि दाई नै भन्नुभयो । सबै माथिल्ला नेताहरु उहाँलाई कामरेड भनेर सम्बोधन गर्छन् । म भाइ भन्दैछु । त्यस्तो व्यक्तिगत घनिष्टता हामीमा होइन । जे हो सही मानेमा त्यही पार्टीकै नाताको घनिष्टता हो । योगेशलाई नभेटेको चारपाँच वर्ष नाघिसकेको हो । यत्रो अन्तराल पछिको भेटमा उहाँले मलाई दाइ भनेर सम्बोधन गर्नुभयो । मैले कामरेड भन्न सकिन । भाइ भनेँ । महशुश भयो कमरेड हुनुभन्दा दाइभाइ हुनुमै नै बढी आत्मीयता छ । हात मिलायौँ । केही क्षण गफ पनि गरियो । साथमा भएका साथीलाई मेरै कारणले भीडमा उभिन परिरहेथ्यो । मलाई भित्र पस्ने इन्तजाम पनि गर्नु थियो । योगेशलाई यसै छाडन सकिँन । उहाँका साथी थिएनन् कि ? मैले साथ दिन पर्ने हो कि ? यसै सोच्न पुगेँ । हुन त म पनि त कहाँको रैथाने हुँ र ? म पनि त साथी नै खोज्दै थिएँ । तर उहाँका साथी र मेरा साथ फरक हुने भयो नै . म कहाँको नाँच हेर्न आएको व्यक्ति उहाँ कहाँको देशकै ठूलो पार्टी गनिएको पार्टीको प्रतिनीधि पाहुना । मैले सोधेँ पनि- साथी छन् कि छैनन् ?

सँधैको भलाद्मी पाराको मान्छे अनि सदा जुँघाको इज्जत राख्ने भाइ योगेशले यता साथी छन् दाई भनेर मलाई विदा दिनुभयो ।

भित्र खुट्टा राख्ने ठाउँ थिएन । गोविन्दिसंह राउतले तान्दै भन्नुभॊ- तपाईलाई खोज्दैछन् है तल प्रेस फोरममा । कवि बसन्तले भन्नुभो एकातिर बसौँ दसआठजना र गरौँ कवि गोष्ठी । गोवन्दसिँह रावतले भन्नुभॊ- जाउँ प्रेस फोरममै र त्यहाँ नै प्रेससम्बन्धी कार्यक्रम सकिनेसाथ माइक खोसेर कवि गोष्ठी गर्ने हो ।

तर तेता जान दिएन एउटा काले बोन्सरले । भन्यो- यस्तो माला भाको पास नभई जान पाउँदैनौ । ए त्यस्तो माला त हीजोदेखि नै गौतम दाहाल र एचबिले लगाइराखेका थिए । उनीहरुले भिर्न पाएको माला हामी निर्णायक भइखाएको व्यक्तिहरुको लागि पनि पक्कै उपलव्ध होला भन्ने लागेर त्यो लिन भनी हामी त्यता गयौँ । त्यो त रजिष्ट्रेशन फि बीस डलर तिरेर मात्र पाइने रहेछ । बसन्तले भन्नुभयो- हामी त आयोजक सहभागिमध्येका हौँ नि तिर्नै पर्ला र ?

तै पनि नतिरी त्यों पाइएन । हीजै लाको भा पाइन्थ्यो होला । पैसा नै तिरेर भिर्नपरे पनि हीजै तिरिन्थ्यो नि कविता गोष्ठीमा । थाहै भएन साथीहरुले आफूआफूका लागि व्यवस्था गरेछन् । हामीलाई त्यो व्यवस्थाकोबारेमा थाहै भएन । हुनु पनि कसरी व्यवस्थापक भइखाको मान्छेसँग त चिनाजानी नभइकनै कार्यक्रम सकिएको थियो ।

हेमन्त श्रेष्ठलाई त्यतै भेटियो । समस्या उनले बुझे । दृढ भएर बोले – पख्नुस् दाई पैसा तिर्ने होइन ।

उनी गए । निकैबेर पछि त वाह साथमा त प्रेमराजा पो छन् । अँगालो हाल्दै दाई म सबै व्यवस्था गर्छु । एकछिन यतै बस्नुस् । आज त साँस्कृतिक कार्यक्रम पनि छ साँझमा त्यो पनि हेर्न पर्छ । यो एउटा पास लिन त २० डलर तिर्न पर्ने ठाउँमा अर्को थप ३५ डलरको कुरा पर्यो साँस्कृतिक कार्यमक्र हेर्नको लागि । मैले कसैलाई पत्याइन । म संलग्न भएको संकायले त त्यो उपलव्ध गराएन भने यी अर्कै संकायका मान्छेले त्यो पनि भोलिपल्ट जब मेरो कुनै भूमिकै नभएको स्थितिमा कसरी ५५ डलर बराबरको माला र टिकट ल्याउलान् भन्ने लाग्यो । अब पैसा तिरेरै भित्र पस्ने बुझेँ ।तर कसम खाएँ प्रेस फोरममा चाहिँ मरेनि जान्न । हिजो कवितामहोत्सवले लोप्पा ख्वाएको छ । आज आफ्नो भूमिकै नभएको ठाउँमा के हुने हो ?

एकघण्टा लाग्यो होला । बसन्त श्रेष्ठले आफ्नो लागि पैसा तिरेर टिकट बन्दोवस्त गरे । मैले पनि अब त आफ्नोलागि टिकट रजिष्टे्रशनको लागि क्रेडिटकार्ड झिकेँ । गोविन्दसिँह राउत प्वाक्क बोले – एकछिन पख्नोस् न दाई उनीहरुलाई आउन त दिनुहोस् ।

एकैछिनमा हेमन्त र प्रेमराजा आए । साँस्कृतिक कार्यक्रमको टिकट एउटा हातमा र अर्कोमा त्यही आयोजकहरुले भिरेकैजस्तो परिचायक माला । मलाई विश्वासको संकट भयो । अर्काको ल्याको हो कि ? हेरेँ त्यसमा मेरै नाम अंकित रहेछ । कसरी त्यो आयो थाहा भएन । हिजो सेन्चुरी भाइले पानी किनेर ल्याइदिनुभाथ्यो । म त्यसरी साथीभाईलाई दुःख दिन चाहन्नथेँ । विशेष यहाँ ५५ डलरको कुरा थियो । मैले जान्न चाहेँ । प्रेमराजाले भन्यो- दाई तपाई त देशकै गौरव । छाड्नुहोस् यो कुरा ।

उनले कुरा ढिम्कनै दिएनन् । मलाई थाहा छैन ती ५५ डलरका पास र टिकट निशुल्क थिए वा सशूल्क । भाइहरुलाई दुःख भयो कि अझै अप्ठेरो लागिरहेको छ ।

गोविन्दिसंहले मलाई प्रेस फोरम भएको ठाउँमा भित्राउनुभयो । तीनचार जना कार्यपत्र प्रस्तुतकर्ता रहेछन् । नेपालमा रहँदा पत्रकार भइखाएकाहरुलाई राम्रै खातिरदारी गरे । उनमा परे नेपाल टेलिभिजनका भुपु पत्रकारसमेत । त्यही टेलिभिजनका म अध्यक्षसमेत भइखाएकालाई सम्झन्छन् कि म गम्म फुलर रहेँ । तर त्यसो भएन । अघि गोवन्दसिँह राउतले तल बोलाइ राखेको छ है भन्नुभाथ्यो कसले बोलाएको हो र किन स्पष्ट भएन । अलि नीकै ढीला भएपछि एकजना मित्रले बोलेको सुनेँ- नेपाल टेलिभिजनका पूर्व पत्रकारहरुलाई बकाइदा आसन ग्रहन गराउनुहुन्छ उनैका समयका अध्यक्ष भइखाएका कवितारामदाइलाई किन अवज्ञा ?

मैले नसुने झैँ गर्न पर्यो । अनि त उद्घोषकले क्षमायाचना गर्दै लिए मेरो नाम पनि । तर अघिल्लो पंक्तिमा आसनग्रहणको लागि निकै ढिला भइसकेकै हो । यथास्थानमै रहन आग्रह भयो ।

कार्यपत्र प्रस्तोताहरु चारजना थिए । तीनजनाले लिखित कार्यपत्र दिए । उनमा थिए गाविन्द गिरी प्रेरणा प्रीन्ट मडियामा राम खरेल टलिभिजन पत्रकारितामा र रामहरीजी इन्टरनेट विधामा । चारैजनाले अति स्तरिय प्रस्तुति दिएका हुन् । अनि उत्तिकै गहकिला पनि । तर ती माथिको छलफल हुन पाएन र अब भनौँ डिजायननै त्यस्तै थियो । मेरो भनाइ छ – अन्तरकृया हुन नपाउँदा ती स्तरिय प्रस्तुतिहरुले पनि पाउन पर्ने इज्जत सम्मान र महत्ता पाउन सकेन । संचालकलाई गोष्ठी समापन भएको उद्घोष गर्न हतार परेथ्यो । सायद हल उपलव्ध थिएन त्यसपछि । तर असफलताको लागि बहाना धेरै हुन सक्छ । व्यवस्थापनको पूर्ण उर्जा कार्यपत्रमाथि होइन कि सीर्फ कुन वक्तालाई बोल्न दिएर सम्मान दिने भन्नेमा खर्चिएको थियो ।

हामी जो कोहीलाई अमेरिकामा हुने कार्यक्रमको स्तर नेपालको तुलनामा उपल्लो दर्जाको हुन्छ वा हुनुपर्छ भन्ने लाग्दछ । संसारकै एक नम्बरको देश यो भएको र याहाँ आउने नेपालीहरुको स्तर पनि सामान्य नेपालीहरुको भन्दा माथिको हुने हुँदा सामान्यतः सोचाई त्यस्तै भइहाल्छ । तर यहाँ वास्तविकता यो छ कि हाम्रा हरसमुदायमा सबै विधाका विशेषज्ञ नपाइने हुँदा जस्तै भएपनि उपलव्ध जनशक्तिबाटै काम चलाउन पर्ने वाध्यता छ । स्तरिय जनशक्ति अन्यत्रबाट ल्याउन सकिनेस्थिति भए पनि त्यस्तो खोजमा कसैको जाँगर र उत्साह हुने स्थिति यहाँ छैन । सबैलाई काम कमाइ परिवार आफ्ना चाख र धेरै विधाहरुमा बाँडिन पर्ने हुन्छ र कसैलाई बढी फुर्सद हुने कुरै छैन । अनि त नजिक जो छ उसँग जिम्मेवारी बाँड्न परिहाल्यो । त्यही भएको हो यसमा ।

खबर आयो अकोतिर स्ँस्कृतिक कार्यक्रम शुरु हुनै लाग्यो । भीड यत्ति बढेको छ कि पहिले नै नगए सिट पाइन्न । हामी त्यता गयौँ । कार्यक्रम त्यही तलामा बडेमानको हलमा रहेछ । पाँच सात हज्जार होला जमघट । कार्यक्रम शुरु भएको त थिएन तर दर्शक सहभागीहरुमा उत्साह गज्जबकै थियो ।

साँस्कृतिक कार्यक्रमलाई दुइ भागमा बाँडिएको थियो । पहिलो लोकसाँस्कृतिक कार्यक्रम र दोस्रो आधुनिक । ताली दुवैमा उत्तिकै बज्यो गडगडाहटकासाथ तर एउटामा आत्मियता र रम्यता थियो भने अर्कोमा खिल्ली र उछृंखलता । मेरो ताली पनि स्वाभाविक रुपमा त्यस्तैत्यस्तै थियो । यसोभन्दा तपाईलाई लाग्ला म आधुनिक काँटका सृर्जनकाका पक्षधर रहेनछु । तर तपाईलाई भन्छु म लोकसाँस्कृतिक सीर्जनका हिमायत हुँदाहुँदै पनि सर्जकभने आधुनिक कीत्ताकै हुँ । नौ वर्षको उमेरदेखि वालनर्तक हुँदै गायक वाद्यवादक संगीतकर्मी अभिनयकर्मी चलचीत्रकर्मी बनेर अनेकन सीर्जना गरेँ । ती सबै जानीनजानी आधुनिक भन्ने कीत्ताकै परे । मलाई सजिलो लाग्ने त्यतै हो । मेरो आफ्नै सीर्जना गुणस्तरिय नहोला त्यो अर्कै कुरा हो । तर सीर्जनाका स्तरियता कस्तो हो र पब्लिकका तालिपड्काइको मनोविज्ञान के हो त्यत्ति बुझ्नेसम्मको पराखी चाहिँ म पक्कै हुँ ।
म सोच्दछु बहुजनीय चाख र चासोलाई अग्र आयामउन्मूख गराउने कला वा सीर्जना आधुनिक हुन्छन् । यसोभन्दा यो भन्न खोजेको हुँ कि कसैको नक्कल गर्नुमा पक्कै आधुनिकता हुन्न । नक्कल मात्र भयो भने जोकर भइन्छ । हँस्सी र मजा अरुको नक्कलबाट पनि हुन्छ । मेरो परख त्यही हो कि त्यहाँ आधुकिताका नाममा आधुनिकहरुका नक्कल मात्र थिए । जोक नै मान्नोस् । जोक पनि सीर्जनासम्मत होइन कि आफैमाथिको जोक । सबैभन्दा पहिले त कार्यक्रमको नामनै एउटा जोक थियो- कलिउड नाइट । यो नक्लको पनि नक्कल कलिउड किन भनीराख्न पर्यो हलिउडलाई नक्कल गरी बलिउड बने अनि त्यसलाई पनि नक्कल गरी कलिउड । आफैमाथि पछौडेपन र दासमनोवृत्तिसम्मत यो कत्रो जोक अग्रगमनमा मात्र आधुनिकता देख्ने मेरो लागि कसैको नक्कल गर्नु पछौडेपन थियो । दासमनोवृत्ति थियो । त्यसलाई कसरी अग्रगामी मान्ने कलिउड भन्ने नामाकरणनै प्रथमतः आधुनिकताको नाममा आफूमाथि व्यंग्य थियो । त्यहाँ प्रस्तुत सबैसबै हिन्दी व्यवसायिक नाँचका कपिलाई मैले आधुनिक नेपाली कार्यक्रम मान्दै मानिन । कार्यक्रममा हामी धरैले धेरै ताली त ठोक्यौँ । तर त्यस प्रस्तुतिहरुका कलात्मकताबाट प्रभावित भएर होइन कि त्यसले प्रायोजन गरेको निम्नस्तरको उछृंखलताबाट उत्तेजित भएर ठोक्यौँ । त्यसमा नेपालबाट उपल्लो दर्जाका जीवन व्यतित गर्न आएका पूर्वफिल्मी अभिनेता अभिनेत्रीहरुबाट पूरै हिन्दि फिल्मका कपि देखिने कार्यक्रमहरु प्रस्तुत थिए । गीत नेपाली थिए तर उत्ताउला र छोटा सेक्सी परिधानहरुले सम्पन्न ती नृत्यहरु नेपाली किन्चित थिएनन् । ताली धेरैले ठोके । तर मान्नुहोस् त्यहाँ ताली ठोक्दै नठोक्नेहरु पनि थिए । जो परिवारसाथमा आएका थिए जो उमेर पुगेका छोरी बुहारी दिदी बहिनी वा भाउजुहरुसँग अएका थिए- उनिहरुमा पूरै अपठेरोपन थियो । तालीको उत्ताउलोपनाले उनीहरुलाई बिजाइरहेको हुनुपथ्र्यो । अमेरिकामा हुँदैमा अमेरिकी हुन सकिन्छ र नत्र नेपाली साँस्कृतिक कार्यक्रमको धोको नै कसैमा किन हुन्थ्यो माफ गर्नुहोला यो मेरो नीजि सोँच हो । सबै यसमा सहमत हुनुपर्छ भन्ने म सोच्दिन पनि ।

तर प्रेमराजाहरुले प्रस्तुत गरेका सबैसबै कार्यक्रमहरुमा नेपाली सरसता थियो । अपठारोपना थिएन । यो सबैले सोचेको हुनुपर्छ । आधुनिकताका नाममा मैला चास्नीमा नडुबेका ती कार्यक्रमहरु उमेर पुगेका छोरी बुहारी दिदी बहिनी वा भाउजुहरुसँग अएका सबैसबै खालेहरुको लागि समभावका रम्य थिए । उनीहरुले निर्धक्क ताली ठोके । कत्ति अपठारो परिस्थितिको समाना गर्न परेन । स्याबास संयोजक रहेका प्रेमराजा पहिलो खण्डका लोकसाँस्कृतिक कार्यक्रम साँच्चै नै नेपाली कार्यक्रम थियो । खुब रमायौँ । आउने वर्ष पनि यस्तै गुणस्तरको कार्यक्रमहरुको आयोजना हुन पुगोस् । सक्नुहुन्छ भने प्रयत्न गर्नुहोस् आधुनिकताको नाममा भारतीय व्यवसायी नाँचहरुको खाँट्टी नक्कल चाहिँ पेश हुन नपुगोस् । तपाईजस्ता अग्रगामी सर्जकबाट आशा राख्न पर्ने कुरा नै यही हो । ध्यान पुर्याउनु होला । फेरि पनि निम्तोको आशा राख्दै आजलाई बिदा पाउँ । नमस्कार ।

-डा. कविताराम श्रेष्ठ

Related Posts

  1. वेलायतमा साहित्यिक आन्दोलक कविताराम सम्मानित

Install the ratings plugin

Popularity:
363 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: