साहित्य(कबिता, कथा, लेख) NEWS
“सम्झना दशै तिहारको ” आचार्य प्रभा
Published by Hamrosamaj on October 6, 2010
(शिशु गजल) आचार्य प्रभा
तिम्रो आगमनले मनको प्यास बढ्यो हेर
तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर ।
अन्जान र खाली थियो मनको सँघार मेरो
आशाको सुन्दर महल कस्तोगरी ठड्यो हेर ।
निरशता र अधुरो रहर, मात्र बाँकी थियो
सारा आज खाक भै मेटिएर डढ्यो आज ।
धेरै नाम लेखिए मन भित्रका पानाहरुमा
तर केवल तिम्रै नाम यो अधरले पढ्यो हेर ।
(अमेरिका)
(गजल) आचार्य प्रभा
म छु बिश्वस्त गरेनौ शायद ,मेरो मायालाई तिरष्कार
अनी सोंच्दैछु फेरि यो पनि,गर्ने छैनौ मनबाट बहिष्कार ।
तिम्रो माया जिउने आधार भयो,अनी आश्वासन जीवन
जित भयौ तिमी यसै मेरो,अनी भयौ जितको पुरस्कार ।
ठान्दछु म मन स्वच्छ भए,पाईन्छ मीठो खुशीको बरदान
कुन इेश्वर हो त्यो जस्ले,रच्यो तिम्लाई गर्दछु म नमस्कार।
हो भावना र चाहनाले रोज्यो तिम्लाई,यस्मा मेरो के दोष ?
थाहा छ मलाई यो पनि,तिमीमा छैन मेरो पूर्ण अधिकार ।
अमेरिका
(कबिता )
“सम्झना दशै तिहारको “
आचार्य प्रभा
सम्झीरहेछु झल्झली
सयपत्री,गोदावरी,मखमली
फुलिरहेको आँगनमा,
टुसाएर जमराहरु झुलिरहेको
घरका कोठाहरु र चोटाहरुमा
सिनिक्क पोँतिए होलान
भात्किएका घरका भित्ता र दलानहरु
सेतो चुना र कमेरो माटोले
पर्खिरहेका होलान परदेशिको आगमन
गोरेटो,चौबाटो र दोबाटोले ।
यसपटक त सानीको नाँगो आङ पनि
ढाकिँदो हो खद्दर र खाँडीले भए पनि ,
पाक्लान जाउली भात नै
नीरिहताको झुप्रोमा पनि
चाड,बाड्को आगमनले ।
बैमष्यता र मन मुटावको
खाटा पनि मेटिएलान
आशिष र खुशीयालिको संयोजनले ,
थाप्लान दाइ,भाइले दिर्घकालिन आशिष
दिदी,बहिनिको सप्तरङी टिकाहरुबाट
गाँस्लान नमेटिने साइनोका हारहरु
सयपत्री र मक्खलिका मालाहरुबाट ,
खोल्लान बा-आमाले आशिषका पोकाहरु
मनका चोखा द्वारहरुबाट ।
मचिन्दो हो लिङे पिङ हावाको झोँकासंगै
सबैको मनको खुशी बोकेर
सजिंदो हो घरका भित्ताहरु
सयपत्रीका नागबेली झै मालाहरुले
हो……….. म भने यही
सम्झना र कल्पनाको तरंगमा
पौडिरहेछु यसघडी,
अनी…….. आसुँ बनेर छचल्की रहेछु
आफ्नै आँखाको डिलमुनी ।
कबिता ) “म परदेशिनुको आशय ”
आचार्य प्रभा
करुण चित्कार मनमा लिएर
आँशुका थोपाहरुलाई
मुटुको घडामा समेट्दै
बन्धकी हाँसो उकास्न
म परदेशिएको मान्छे ।
बिवसता मेरो नजिक थियो
त्यो क्षण ,
अनी पीडा आफन्त थियो
त्यो पल,
शायद समस्याले जकडिएको
त्यो समयमा आफ्नाहरु पनि
तर्किएर बैरी बने होलान,
मन भौंतारिएर आश्वासनको खोजिमा थियो
शान्त्वनाको पुल बाँधिदिने हातहरु
सुन्यतामा हराए शायद ,
हो यस्तै बाध्यताहरुको कसिमा
आफुलाई बाँधेर म परदेशिएकी छु।
बैरी र अवसरबादिहरुलाई आकर्षणको
फूल चढाउन
म टाढा आइेपुगेकी छु ,
मेरो टाडिनुको अर्थ हो
म आकर्षक बनुँ
जस्लाई फेरि बैरी मनहरुले
श्रद्धा र आफ्नोपनको आँखाले नियालोस
घ्रीणा र हिनभावनालाइे पखालेर
एउटा जिवित मान्छे बनोस।
(अमेरिका )


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....